वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

7

काठमाडौं – वीरगन्जमा सोमबार साँझ ५ देखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गरेर वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच पाँच दिनदेखि जारी विवादलाई लिएर वीरगन्जमा पनि सोमबार दुई फरक समुदायबीच  ठाउँ ठाउँमा झडप भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए।

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेशको सूचनामा वीरगन्जको सीमा क्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिण भन्सारको मितेरी पुलभित्र महानगरको क्षेत्रमा कर्फ्यु लगाइएको उल्लेख छ।

सोमबार दिउँसोदेखि केही हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दुवादी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको थियो। यस्तै हिन्दुवादीहरूले बजार बन्द गराउने क्रममा केही पसलमा तोडफोड गरेपछि  मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो। 

जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू