वैकल्पिक ऊर्जालाई जर्मन सरकारले डेढ अर्ब बराबरको सहयोग प्रदान गर्ने

15

(काठमाडौं) – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रायमा भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा जर्मन राजदूत शेफरले ऊर्जा र वैकल्पिक ऊर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको बताएका थिए । राजदूत शेफरले वैकल्पिक ऊर्जालाई डेढ अर्ब बरावरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी गराएका थिए । मन्त्री पुनले जर्मन सरकारले ऊर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागि धन्यवाद दिए ।

भेटका क्रममा मन्त्री पुनले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करीब १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुँच पुर्याउने योजनामा सरकार रहेको जानकारी गराएका थिए ।

मन्त्री पुनले भने, ‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ ।’ मन्त्री पुनले वैकल्पिक ऊर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।

मन्त्री पुनले उक्त सहयोगको लागि धन्यवाद दिंदै वैकल्पिक ऊर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए । भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहुँ जलविद्युत परियोजना लगायतका विषयमा समेत छलफल भएको थियो ।

समाचार वर्गहरू