शिक्षक र सरकारबीचको वार्ता सकारात्मक, सहमतिको ड्राफ्ट तयार, आन्दोलन जारी

137

काठमाडौं – नेपाल सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सहमति नजिक पुगेको छ। सोमबार मध्यराती नेपाल शिक्षक महासंघ र शिक्षामन्त्रीसहितका अधिकारीहरुबीच भएकोछलफल सकारात्मक भएको हो।

बैठकपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले केही काम बाँकी रहेकाले मंगलबार टुंग्याउने गरी अघि बढ्ने बताए। ‘हाम्रो वार्ता सकारात्मक रूपमा अघि बढेको छ। केहि काम बाँकी छ। यसलाई सकेसम्म एकदमै छिटो टुंग्याउने तयारीमा छौं। सरकार गम्भीर रुपमा अगाडि बढेको छ।’, मन्त्री पन्तले भने,‘१२ कक्षाको परीक्षा पनि तोकिएकै मितिबाट सञ्चालन हुन्छ।’

शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सहमतिको ड्राफ्ट तयार भएको छ। त्यसलाई आन्तरिक छलफल गरेपश्चात टुंगोमा पुर्‌याइनेछ।

शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ। मंगलबार सहमति भए बुधबारबाट आन्दोलनको मोडालिटी फेरिने महासंघको भनाई छ। आज पुन: वार्ता हुनेछ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि सरकारसँगको वार्ता सकारात्मक भएको उल्लेख गरे। उनले केही विषयमा छलफल आवश्यक रहेकाले संवादबाटै टुंगो लगाउने बताए।

२८ दिनदेखि शिक्षक आन्दोलनमा छन्। २६ औं दिनको दिन आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको थियो। झडप पत्रकारसहित दुईदर्जन बढी शिक्षक घाइते पनि भएका थिए।

शिक्षक र सरकारबीच छलफल गर्न खोज्दा विपक्षी दलका नेताहरूले शिक्षक आन्दोलन उचाल्ने काम पनि गरिरहेका छन्।  नेकपा एकीकृत समाजवादीका नेताहरू पनि सोमबार नेपाल शिक्षक महासंघको जारी आन्दोलनमा सहभागी हुन पुगेपछि नाराबाजी गर्दै फर्काएका थिए।

समाचार वर्गहरू