शुद्ध र सहज ‘वैदिक श्राद्ध पद्धति’ बजारमा

12

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले गर्ने धार्मिक कर्मका पुस्तकमा अशुद्धि वृद्धि बढेपछि शुद्ध पुस्तक प्रकाशनका लागि अभियान चलाउन थालिएको छ ।

वाल्मीकि विद्यापीठमा कर्मकाण्ड प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीले बजारमा पाइने पुस्तक अशुद्ध भएको थाहा पाएपछि समूह बनाई शुद्ध पुस्तक प्रकाशन गर्न थालेका हुन् ।

यसै क्रममा प्रशिक्षार्थी सुदीपकुमार पौडेलको नेतृत्वमा पहिलोपटक ‘वैदिक श्राद्ध पद्धति’ नामक पुस्तक बजारमा ल्याइएको छ । बजारमा पाइने पुस्तकमध्येमा शुद्ध र सहजरूपमा बुझ्न सकिने गरी दुई वर्ष लगाएर पुस्तक सम्पादन गरिएको उनले बताए ।

यसअघि बजारमा आएका श्राद्धलगायत कर्मकाण्डका पुस्तकमा विभिन्न ग्रन्थबाट ल्याइएका मन्त्रलाई सम्पादकले नै लेखे जसरी लेखक भन्ने गरिएकामा यसमा भने सङ्कलक उल्लेख गरिएको छ ।

उक्त पुस्तकमा छ वटा श्राद्ध विधि दिइएको छ । यसअघि बजारमा आएका पुस्तकमा चारवटासम्म मात्र श्राद्धविधि दिइएको हुन्थ्यो ।

पुस्तकमा एकोद्दिष्ट, पार्वण, एकापार्वण, तीर्थ, अभिधवा मातृनवमी र त्रिपिण्डी श्राद्ध विधिका साथै श्राद्धमा प्रयोग हुने विभिन्न वैदिक सूक्त पनि दिइएको छ ।

तर्पण क्रम, श्राद्ध सामग्री, तर्पण गर्ने र श्राद्ध गर्ने स्थलको सचित्र वर्णन गरी प्रकाशित पहिलो पुस्तक भएकाले संस्कृत वाक्य जान्ने तर काम नगरेकाको लागि र गर्ने दुवैका लागि उपयोगी पुस्तकका रूपमा आएको छ ।

पुस्तक तयार पार्न वाल्मीकि विद्यापीठका कर्मकाण्ड प्रशिक्षक नारायणप्रसाद कोइराला, सुदीपकुमार पौडेल, विष्णुप्रसाद खनाल र बालमुकुन्द अर्यालको समूह लागि परेको हो ।

विद्यापीठमा प्रशिक्षण लिइरहेको समूहले सनातन धर्ममा देखिएका विकृति अन्त्य हुने गरी शुद्ध र सहज पुस्तक प्रकाशन गरेकामा प्राचार्य गणेशप्रसाद घिमिरेले खुसी प्रकट गरेका छन् । सामान्य पढेलेखेकाले पनि विधिपूर्वक श्राद्ध कर्म गर्न पुस्तक उपयोगी हुने उनको विश्वास छ ।

दुई सय ५६ पृष्ठको पुस्तकको मूल्य ३५५ रुपैयाँ तोकिएको छ ।

समाचार वर्गहरू