काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं व्यवसायी अध्यक्ष शेखर गोल्छाले प्रहरीले डाकेको अबस्थामा आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने बताएपछि उनी पक्राउ हुनबाट जोगिएका छन् । गोल्छा भैहरवा हुँदै भारत जान लागेको भन्ने सूचना सुरक्षा निकायमा पुगेपछि प्रहरीले उनलाई सम्पर्क गरेको बताइएको छ ।
सोही सम्र्पकमा आफु काठमाडौमा भएको र प्रहरीले चाहेको समयमा प्रहरी कार्यालयमा उपस्थित हुने बताएपछि आज (विहिबार) गर्न लागिएको पक्राउ कार्य रोकिएको बताइएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ मा गोल्छाले भट्टलाई जालसाजीपूर्ण कारोबारमा सघाएको देखिएपछि उनी प्रहरीको निगरानीमा परेको बताइएको छ।
शेयर बजारमा नेपाल रिइन्स्योरेन्सको शेयर मूल्यमा कृतिम माग सिर्जना गराई दोस्रो बजार प्रणालीलाई झुक्याएर मूल्य बढाउने कार्य गरेको र त्यसका लािग गोल्छाले पैसा दिएर सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।
भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिबाट गरिएको कारोबारमा मुख्यगरी रुपमा दिपक भट्ट र तथा सहयोगीको रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
त्यसरी कारोबार गर्न दिएकोमध्ये ब्रोकर कम्पनीले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ। जालसाजीपूर्ण कारोबारको तथ्य बाहिरिएपछि गोल्छाले फागुन २५ मा हिमालयन रि इन्सुरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।
चैत ५ मा हिमालयन रिको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो। यसअघि महासंघका पूर्वअध्यक्ष एवं हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष गोल्छालाई भैरहवाबाट पक्राउ गरिएको समाचार प्राप्त भएको थियो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरिएको बताइएको थियो ।