शौच गर्न गएकी महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार

153

काठमाडौं – मोरङको जहदा गाउँपालिका–३ खदरा बस्तीकी एक २२ वर्षीया दलित महिलालाई हातखुट्टा बाँधेर सामूहिक बलात्कार गरिएको छ ।

मंगलबार बिहान शौच गएकी ती महिला दिउँसो नजिकैको बाँसघारीमा मुखमाकपडा कोचिएको तथा हातखुट्टा बाँधिएको र अचेत अवस्थामा फेला परेपछि उद्धार गरिएको थियो ।

उद्धारपछि कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचारका क्रममा साँझ मात्र होसमा आएकी ती महिलाले शौचस्थलबाट आफूलाई अपहरण शैलीमा बाँसघारीमा लगेर हातखुट्टा बाँधी सामूहिक बलात्कार गरिएको आफन्त र प्रहरीलाई बताएकी छन् । पीडित महिलाको बयानका आधारमा मंगलबार तीन र बुधबार एक गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपडा च्यातिएको अवस्थामा उद्धार गरिएकी उनको शरीरका विभिन्न स्थानमा नीलडाम छन् । अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको जनाएपछि बुधबारदेखि उनलाई विराटनगरकै एक आश्रयस्थलमा राखिएको छ ।

कटहरी गाउँपालिका–२ कदमगछियाकी ५२ वर्षीया शान्ति ऋषिदेवले उनलाई बाँसघारीको बीचमा देखेपछि गाउँलेलाई बोलाएर ल्याएकी थिइन् । त्यसपछि स्थानीयले प्रहरी बोलाएर उनको उद्धार गरेका थिए । प्रहरी चौकी कटहरीदेखि करिब डेढ किमि मात्र दक्षिणतर्फ रहेको बाँसघारीमा सामूहिक बलात्कार भएको हो ।

मुसहर समुदायको बाहुल्य रहेको सुकुम्बासी बस्तीकी ती महिला काखे बच्चा ओछ्यानमै छाडेर झिसमिसेमै घरदेखि करिब डेढ सय मिटर दूरीमा रहेको जुडी खोलामा शौच गर्न गएकी थिइन् । श्रीमान्ले अर्कै महिलासँग बिहे गरेर भारत गएपछि उनी दुई बालबच्चासहित ३ वर्षदेखि माइती घर खदरामा बस्दै आएकी थिइन् ।

बेलाबखत मजदुरी गर्न जाने भएकाले बिहान अबेरसम्म घर नफर्के पनि ‘छोरी बिहानैदेखि कामतिर गई होला’ भन्ने ठानेर खोजी नगरिएको आमा रेखाले बताइन् । कान्तिपुर दैनिक

समाचार वर्गहरू