काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।
प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ। लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए। आइतबार लामिछानेको बयान सके पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएको थिएन।
लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। उनका वकिलहरूले पनि परिवार वा वकिलको जिम्मामा छाड्न भनेका थिए। तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका हुन्।
अन्तिममा न्यायाधीश अधिकारीले ‘मैले आदेश गर्ने भएँ’ भनेर इजलास अधिकृतलाई टाइप गर्न लगाए। आदेश टाइप भएपछि न्यायाधीशले भने, ‘पहिले जे हुँदै आएको थियो, त्यही नै आदेश गरेँ।’
अर्थात्, पहिलेदेखि नै ‘हेर्दाहेर्दै’ मा रहेको मुद्दामा प्रतिवादीलाई हिरासतमै पठाउने गरिएको हुँदा त्यसैलाई निरन्तरता दिएर न्यायाधीशले आदेश गरेका हुन्।
यसपछि कठघरामा उभिएका रविले हात जोड्दै भने, ‘श्रीमान आदेश स-सम्मान स्वीकार गर्छु।’