श्री धारापानी मावि सम्झौता भएको ५ महिना निर्माण सम्पन्न

13

काठमाडौँ – गोरखाको आरुपोखरी ८ मा रहेको श्री धारापानी माध्यामिक विद्यालय तोकिएको समय अघि पुनर्निर्माण पछि हस्तान्तरण गरिएको छ ।

निर्माण सुरु भएको १८ महिनामा विद्यालय हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि १३ महिनामै विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको ईन्जिनियर निशान अधिकारीले बताए। गत वर्षको भदौमा निर्माण सुरु भएर आगामी फागुनमा सक्ने लक्ष्य राखिएको भएपनि ५ महिना अगाडि नै सम्पन्न गरी विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

जापान सरकारको सहयोग नियोग जाईकाको नेपाल सरकारलाई प्राप्त ऋण सहयोगमा विद्यालय निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाको ब्यवस्थापनमा निर्माण भएको भवन स्थानीय निकाय मार्फत विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

झण्डै ६ करोड रुपैयाँ लागतमा निर्माण भएको विद्यालयको एउटा तीन तले र अर्काे दुई तले गरी दुई वटा भवन निर्माण भएका छन् । १५ ओटा कक्षा कोठा सहितको पुस्तकालय, कम्प्युटर ल्याबको सुविधा उपलब्ध रहेको ईन्जिनियर अधिकारीले बताए । सदरमुकाम गोरखाबाट ४० किलोमिटरको दूरीमा रहेको विद्यालय ग्रामिण ईलाकामा पर्दछ । विपन्न समुदायका १ सय ७० विद्यार्थी अध्ययन गरिरहेको विद्यालयको भवन अभावमा अस्थायि छाप्रोमा अध्यापन हुँदै आएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षा मार्फत अझै पनि १ हजार ८ सय विद्यालय निर्माण हुन बाँकी छन् । १ हजार ५ सय १६ निर्माणका क्रममा छन् । भने ३ सय ३ विद्यालय निर्माणका लागि ठेक्का सम्झौता भएको छ । एसियाली विकास बैंक एडीबी र भारत सरकारको सहयोगमा निर्माण हुने निर्णय भएका कुल १ सय ७७ वटा विद्यालयका लागि हालै मात्र बोलपत्र खुलाईएको केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षाका सूचना अधिकारी किरण कुमारी लेखकले जानकारी दिए।

समाचार वर्गहरू