काठमाडौं – उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको बताएकी छिन् ।
आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको उनको भनाइ छ ।
उनले संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदलाई सचेत गराइन् ।
उनले भनिन्, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ मान्यज्युहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ ।’
उपसभामुख रानाले फरक प्रसङ्गमा महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दुःख व्यक्त गरिन् ।