सिन्धुपाल्चोक – अविरल वर्षापछि आएको बाढी पहिराले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुनसकेको छैन ।
चीनमा कोरोनाको सङ्क्रमण बढेपछि विसं २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नाका भित्रिसकेका करोडौँ मूल्यका सामग्री तातोपानीमै रोकिएका छन् । तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताए ।
भन्सार तथ्याङ्कअनुसार नाका चलेको नौ महिनामा तातोपानी भएर रु साढे नौ अर्ब मूल्यको सामग्री आयात भएको थियो । झण्डै रु छ करोडको सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिए । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान छन् ।