समृद्ध नेपालको आकांक्षा पूरा गर्न पर्वलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री

15

काठमाडौं, प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सांस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सांस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नु पर्ने बताएका हुन् ।

नेपाल यतिबेला आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी पर्यटकको आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।”

प्रधानमन्त्री ओलीले नेपाल बहुभाषा, बहुधर्म र बहुसांस्कृतिको देश भएको उल्लेख गरेका छन् । “एकअर्काको समुदायका संस्कृतिलाई हामीले साझा समाजिक–सांस्कृतिक निधि मान्दै आएका छौं । यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौं” प्रधानमन्त्री ओलीले भने, “हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अथ्र्याइ नेपालीहरु बीचको एकता धुमिल्याउने प्रयास थिए । तर, हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौं ।”
प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सहकाल सहित मनाइने पर्वको रुपमा स्मरण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सांस्कृतिक पर्वका रुपमा संरक्षण गरिएको बताउनुभएको छ । “इन्द्रजात्राका बारेमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, विष्णु धर्माेत्तर पुराण, बृहत संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुबंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ ”प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वहरुको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ ।”

समाचार वर्गहरू