काठमाडौं – नेपाली कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आगामी बजेटलगायत विविध विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
बैठकपछि उनले भने, ‘बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढङ्गले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गर्नुभयो ।’
बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिए ।
बैठकमा सांसदहरूले क्षेत्रगत सन्तुलन कायम गर्दै समावेशी र न्यायपूर्ण ढंगले बजेट वितरण हुनुपर्नेमा जोड दिएका थिए। गर्भनरको विषय पनि छलफलमा आएको जनाइएको छ।
त्यस्तै, ठूलो दल भएर पनि सरकारमा कांग्रेसको उपस्थितिलाई सम्मानजनक नभएको भन्दै सांसदहरूले असन्तुष्टि पोखेका छन्।
कांग्रेस सांसदहरूका अनुसार पार्टीको हैसियतअनुसार सरकारमा अझ ठूला जिम्मेवारी पाउनु पर्ने माग पनि बैठकमा उठेको थियो।