सरकारलाई छक्याउँदै चोरबाटोबाट विदेश उड्यो संसदीय टोली

58

काठमाडौं – जेनजी विद्रोहपछि बनेको सरकारको नीतिलाई छक्याउँदै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको टोली शुक्रबार जेनेभा उडेको छ ।

स्वीट्जरल्यान्डको जेनेभामा २ देखि ६ कात्तिकसम्म हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी हुन अध्यक्ष दाहाल सरकारको नीतिविपरीत ६ जनाको टोली लिएर जेनेभा उडेका छन् ।

अर्थ मन्त्रालयले गत ७ असोजमा सरकारी खर्च कटौती र मितव्ययी बन्ने भन्दै सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा नेपाल सरकारको स्रोतमा हुने प्रतिनिधिमण्डलमा बढीमा तीन जना मात्र सहभागी हुन पाइने निर्णय गरेको छ । यस निर्णयमा राष्ट्र वा सरकार प्रमुखको यस्तो भ्रमणमा बढीमा १० जना मात्र सहभागी हुने उल्लेख छ ।

तर, राष्ट्रिय सभा अध्यक्ष दाहालको संयोजकत्वमा आईपीयूको महासभामा भने तीन जना कर्मचारीसहित ६ जना विदेश उडेका छन् ।

टोलीमा सहभागी संसद्का सचिव रोजनाथ पाण्डेले चतु¥याइँपूर्वक आईपीयू महासभामा हुने सत्रलाई बेग्लाबेग्लै कार्यक्रम प्रस्ताव गरेर तीन–तीन जनाको टोली बनाएर अर्थ मन्त्रालयबाटै भ्रमण स्वीकृत गराएको खुलेको छ ।

‘अर्थ मन्त्रालयलाई नै गुमराहमा राखेर राष्ट्रिय सभाको भ्रमण दलले दुई वटा बेग्लाबेग्लै कार्यक्रममा तीन जनाको दरले भ्रमणमा जाने भनेर सरकारबाट भ्रमण स्वीकृत गराएको छ,’ अर्थ मन्त्रालयका एक सहसचिवले राजधानीसँग भने ।

तर, संघीय संसद्का प्रवक्ता एकराम गिरीले सार्वजनिक गरेको विज्ञप्तिमा भने आईपीयूको महासभामा अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सभाका सांसदद्वय नेकपा माओवादी केन्द्रका गोपीबहादुर अछामी र नेकपा एकीकृत समाजवादीकी मदनकुमारी साह (गरिमा) र व्यवस्थापिका संसद्का महासचिव पाण्डेले सहभागिता जनाउने उल्लेख छ ।

अर्थ मन्त्रालयले स्वीकृत गरेको भ्रमण दलमा व्यवस्थापिका संसद्का सचिव पाण्डे र सहसचिव बबिता मिश्राको पनि नाम छ । भ्रमण दलमा अध्यक्षको नेतृत्वमा दुई सांसद र महासचिवको नेतृत्वमा दुई कर्मचारी रहनेगरी बेग्लाबेग्लै टोली देखाइएको छ ।

तर, आईपीयूको महासभामा भने महासभाअन्तर्गतका सत्रबाहेक अन्य बेग्लै कार्यक्रम नभएको संसद् सचिवालयकै कर्मचारी बताउँछन् ।

रोचक त के छ भने प्रवक्ता गिरीले जारी गरेको भ्रमण टोलीसम्बन्धी विज्ञप्तिमा संसद् सचिवालयका सचिव पाण्डे र सहसचिव मिश्राको नाम नै उल्लेख छैन ।

भ्रमणदलका सदस्यबारे राजधानीको जिज्ञासामा व्यवस्थापिका संसद्का प्रवक्ता गिरीले दुई जनाको नाम उल्लेख नगरिएको विषयमा स्पष्ट जवाफ दिएनन् । तर, उनले आईपीयूका बेग्लाबेग्लै दुईवटा कार्यक्रममा सहभागी हुन अध्यक्ष र महासचिव नेतृत्वको दुईवटा टोली जेनेभा प्रस्थान गरेको बताए ।

जेनजी आन्दोलनपछि बनेको सरकारलाई छलेर भ्रमणमा गएको टोलीले भ्रमण दलका सबै सदस्य सार्वजनिक हुने डरका कारण फोटोसमेत सार्वजनिक गरेन ।

विगतका भ्रमणका क्रममा महासभामा जाने टोलीको विमानस्थलमा भव्य बिदाइ गरी फोटो सार्वजनिक गर्ने र पत्रकार सम्मेलनसमेत गर्ने प्रचलन थियो । तर, यसपटक कर्मचारीको बदमासीका कारण एउटै कार्यक्रमलाई टुक्र्याएर तीन जना मात्र जान पाउने कार्यक्रममा ६ जना गएपछि आधिकारिक रूपमा फोटोसमेत सार्वजनिक गरिएको छैन । राजधानी दैनिक

समाचार वर्गहरू