काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले नेपाली जनतामा अन्योल र निराशाको अन्त्य गर्न एमालेको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन् ।
बिहीबार बाग्लुङ सदरमुकाममा भएको सन्देश सभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सरकारले जनतामा उत्साह पैदा गर्न नसकेको आरोप लगाए ।
गठबन्धन सरकारलाई हुतिहाराको संज्ञा दिँदै ओलीले बढ्दो युवा पलायन, बेरोजगारी, गरिबी, अराजकता, जनतामा अन्योल, निराशाको अन्त्य गर्न एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क थियो ।
झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा ओलीले संकल्प यात्रा तय गर्नुको मुख्य उद्देश्य जनताको मनोभावना अध्ययन गर्नु र मध्यपहाडी लोकमार्गको सम्भावना खोज्नु रहेको पनि बताए । जनताको अपेक्षाअनुसार सुखी नेपाली समृद्ध नेपाल बनाउने संकल्प पूरा गर्न पार्टीको तल्लो तहदेखि नै काम गर्न उनले कार्यकर्तालाई आह्वान गरे ।
मध्यपहाडको समस्या र विकासको सम्भावना खोज्न एमालेले १४ मंसिरदेखि झुलाघाटबाट अभियान सुरु गरेको हो । यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ ।