कास्की – सरकारी छाप दस्तखत किर्ते मुद्दाका तीन फरार प्रतिवादी कास्कीबाट पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको २०७५ वैशाख २ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने जिल्ला पर्वत मोदी गाउँपालिका-६ तिलाहार घर भएका ३७ वर्षीय निर्दोष गिरी, पोखरा-३३ लामगादीका २४ वर्षीय ऋषिराम गिरि र सोही महानगरपालिका-२ हरिचोक ठेगाना भएका २२ वर्षीय असिम भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले निर्दोष र असिमलाई आफ्नै घर ठेगाना र ऋषिरामलाई सोही महानगरपालिका(२६ बिजयपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।