सर्लाहीमा भरत ताल बनाउने मेयर थापाविरुद्ध ३० करोड भ्रष्टाचारको अर्को मुद्दा

9

काठमाडौं – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।

आफ्नै नामको भरत ताल बनाएर चर्चामा आएका थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही ताल निर्माणमा भ्रष्टाचार गरेको दाबी गरेको छ।

बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा रहेको उक्त ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ।

उनीविरुद्ध यसअघि (गत चैत २८ गते) अख्तियारले नै पाँच करोड ३३ लाख रुपैयाँ अवैधानिक तवर आर्जित गरेको देखिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

यसपटक थापाविरुद्ध भरत ताल निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको र उजुरीअनुसार अनुसन्धान गर्दा उनले यो रकमबराबर भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ। यस मुद्दामा थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको हो।

सागरनाथ वन विकास परियोजना र नेपाल सरकारको स्वीकृतिबिना माछा पोखरी-१ बाट १७ लाख ८८ हजार २६४ घनमिटर र बागमती माछा पोखरी-२ बाट २१ लाख ८४ हजार ९२७ घनमिटर वन पैदावार गरी ३९ लाख ७३ हजार घनमिटर उत्खनन् गरेको पाइएको छ।

पोखरी निर्माण गर्दा ३३ लाख ५९ हजार घनमिटर मात्र खर्च तथा मौज्दात देखिएको र नपुग हुने वन पैदावार १३ लाख ४० हजार घनमिटर घोटाला गरेको अख्तियारले जनाएको छ। अपुग परिमाणको मूल्य २६ करोड ८० लाख रूपैयाँबराबर हानिनोक्सानी भएको र १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत जोड्दा ३० करोड २९ लाख रूपैयाँ क्षति भएको दाबी गरी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यसअघि उनीमाथि ५ करोड ३३ लाख रूपैयाँबराबर भ्रष्टाचारको अभियोगमा अर्को मुद्दा दायर भएको थियो। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा अर्को मुद्दा दायर भएको हो।

पछिल्लो मुद्दामा नगर उपप्रमुख लीलाकुमारी मुक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति, सर्लाहीका प्रमुख मेथुर चौधरीलाई पनि अभियुक्त बनाइएको छ।

https://drive.google.com/file/d/1AhA024DD6WWHjrQsssHHxQ66JqWWbnXe/preview

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू