सर्वोच्चको फैसला स्विकार्दै देउवा पक्षले भन्यो अब पूर्णबहादुरलाई ‘कार्यवाहक सभापति’ भन्दैनौं

100

काठमाडौँ । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेसँगै शेरबहादुर देउवा पक्षले पूर्णबहादुर खड्कालाई अबदेखि ‘कार्यवाहक सभापति’ नभन्ने भएको छ ।

शनिबार राजधानीमा आयोजित देउवापक्षीय नेताहरूको छलफलले न्यायलयको आदेशलाई स्वीकार गर्दै खड्का अब पूर्वकार्यवाहक सभापति भएको बताएको हो ।

यसअघि देउवा पक्षले गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा प्रस्तुत गर्दै आएको थियो ।

सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले बताए ।

सर्वोच्चको फैसलापछि आफूहरूले गगन थापालाई पार्टी सभापति मानेको उनले बताए । उनले हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए ।

उनले भने, ‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा गोल थियो भने अब सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा अदालतले बल फाल्दिएको छ । त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले नेपाली कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको खुट्टामा छ ।’

विशेष महाधिवेशनको पक्षमा नउभिएको नेता शेखर कोइराला पक्षको पनि आधिकारिक धारणा आइसकेको छैन । तर, उक्त समूहले केही समयअघिदेखि नै तत्कालीन कार्यबाहक सभापति खड्काले बोलाएको समानान्तर गतिविधिमा सहभागी हुन र विचारको स्वामित्व लिन छाडेको छ ।

समाचार वर्गहरू