सागका लागि नेपाली फुटबल टोलीको घोषणा

12

(काठमाडौं) – काठमाडौंमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २३ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दलाई बाहिर राखेर २० सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा सिनियर खेलाडीको रुपमा मिडफिल्डर सुजल श्रेष्ठ, गोलरक्षक विकेश कुथु र डिफेन्सिभ मिडफिल्डर विक्रम लामा अटाएका छन् । नेपालले अघिल्लो संस्करणको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । सो फाइनलका हिरो नवयुग श्रेष्ठ यसपटक अन्तिम टोलीमा परेनन् ।

नेपाली टोलीमा गोलरक्षकहरु विकेश कुथु, अर्पण कार्की र दीप कार्की छन् । त्यस्तै डिफेण्डरमा विक्रम लामा, अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, विकास खवास र छिरिङ गुरुङले स्थान पक्का गरेका छन् ।

नेपाली टोलीको मिडफिल्ड सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ र मिक्छेन तामाङले सम्हाल्ने छन् ।

विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा र अन्जन विष्टले नेपाली टोलीको आक्रमणको जिम्मा पाएका छन् ।

साग मंसिर तेस्रो साताबाट सुरु हुँदैछ । २३ वर्ष मुनिको टोलीलाई खेलाउन पर्ने भएपनि सागमा तीन सिनियर खेलाडी राख्न पाउने प्रावधान छ ।

समाचार वर्गहरू