(काठमाडाैं) – साग फुटबलको पुरुष स्पर्धामा भारतले अन्तिम समयमा सहभागी नहुने बताएपछि सहभागी ५ राष्ट्रबीच राउण्ड रोबिनका आधारमा खेल हुने भएको छ ।
पाकिस्तानले यसअघि नै फुटबलमा स्पर्धा नगर्ने बताएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाले आज नयाँ खेल तालिका सार्वजनिक गर्दै फाइनल मंसिर २४ गते गर्ने जनाएको हो ।
राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष २ स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । आज सार्वजनिक खेल तालिकाअनुसार, मंसिर १६ गते बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक नेपालले भने मंसिर १७ गते भुटानसँगै प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मंसिर १८ गते श्रीलंका, मंसिर २० गते माल्दिभ्स र मंसिर २२ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । फुटबलका सवै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।