काठमाडौं – नेपाल टेलिकमले सात प्रदेशका ३२ जिल्लामा फोरजी/एलटीई सेवाको विस्तार गरेको छ । टेलिकमले सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको अवसरमा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीबाट सो सेवाको सफ्ट लन्चमार्फत औपचारिक शुरुवात गर्ने भएको छ ।
टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले विज्ञप्ति जारी गर्दै हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको जनाएको छ । देशैभर फोजी सेवा सुरु गर्नको लागि गत माघ २० मा टेलिकमले ठेक्का सम्झौता गरेको थियो । एक वर्षमा देशैभर फोजी विस्तार गर्ने टेलिकमको योजना थियो ।
यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने टेलिकमले जनाएको छ । विस्तारित फोरजी/एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ ।
हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी/एलटीई सेवा सबै वस्तीहरुमा पुर्याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि महत्वपूर्ण पूर्वाधार सावित हुने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताईन ।
नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी/एलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए ।
कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको छ । सम्झौता अन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ ।
हिलो चरणमा दमक, बिर्तामोड, धरान, धनकुटा, विराटनगर, जनकपुर, इटहरी, वीरगन्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगन्ज, सुर्खेत, रौतहट, महोत्तरी, सर्लाही र धनगढीमा सेवा सुरु हुने टेलिकमले जनाएको छ ।
यस्तै रुकुम, धनकुटा, पर्वत, पाल्पा, बागलुङ, दाङ, बर्दियाका मुख्य सहरमा पनि सेवा सुरु हुने टेलिकमले जनाएको छ ।
टेलिकमले फोजी सुरुवात गर्नका लागि आन्तरिक रूपमा परीक्षण गरिसकेको छ । परीक्षणको क्रममा फोजीको स्पिड २ सय एमबीपीएस भन्दा बढी देखिएको जनाइएको छ ।
कम्पनीले सातै प्रदेशमा फोरजी/एलटीई सेवाको शुभारम्भ गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्नुहुने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ । यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ ।
यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइने छ । यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ ।
यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ ।
यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहने टेलिकमले जनाएको छ ।