काठमाडौं – सामाजिक सुरक्षामा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको छ । सूचीकरणका लागि तोकिएको समयसिमा नजिकिँदै गर्दा कोषमा आवद्ध हुने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य बढ्दै गएको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीका अनुसार आज श्रमिकको संख्या ५० हजार नाघेको हो ।
कोषमा सूचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको छ । सूचीकृत रोजगार दाताको संख्या ४ हजार ७ सय ९० रहेको छ भने, श्रमिकको संख्या ५० हजार १ सय चालिस पुगेको कोषले जनाएको छ ।
चौधरी गु्रप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जी फोर एस सहित १ सय १७ वटा आउटसोर्सिङ कम्पनीहरु, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल कोषमा सूचीकृत भएका छन् ।
यस्तै, मेरियट होटल, सांग्रीला होटल, शंकर गु्रप, यति डिष्टीलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कूल, इन्फोटेक सर्भिसेज (विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाई आउट सोसिंङ गर्ने कम्पनी), दराज डटकम पनि कोषमा सूचीकृत छन् ।
कोषले सूचीकृत हुन सजिलोका लागि प्राविधिक सुधार गरेको जनाएको छ । सामाजिक सुरक्षा कोषको सूचीकरणलाई सफल बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कोषका कतिपय प्रावधानमा देखिएका अस्पष्टतालाई सबैपक्षसागको गहन छलफल र अन्तरक्रियालाई प्राथमिकता दिएको बताउनु भएको छ ।
मन्त्री विष्टले विभिन्न २३ वटा बुादामा संशोधन गरी रोजगार दाता र श्रमिकहरुलाई कोषमा आवद्ध हुन थप सहज वातावरणको निर्माण गरेको बताउनु भएको छ । कोषको काम सहज र सरल बनाउनका लागि प्राविधिक सुधारका सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
सामाजिक सुरक्षा कोषको सूचीकरणलाई सफल बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टका पछिल्ला प्रयासहरु …..
- कोषका कतिपय प्रावधानमा देखिएका अस्पष्टतालाई सबै पक्षसँगको गहन छलफल र अन्तरक्रिया पछि श्रावणमा कार्यविधि संसोधन । विभिन्न २३ वटा बुँदामा संशोधन गरी रोजगार दाता र श्रमिकहरुलाई कोषमा आवद्ध हुन थप सहज वातावरणको निर्माण ।
- सूचीकृत हुने समयावधि असोज मसान्तसम्म थपिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नियमित छलफल तथा अन्तरक्रिया गरिरहेको । खास गरी विभिन्न क्षेत्रका छाता संघसंस्थाहरु केन्द्रित छलफल । सो अनुसार
भाद्र महिनामा मात्रैै :
४ गते आउटसोर्सिङ कम्पनीहरुसँग छलफल, सामूहिक रुपमा समयावधि भित्रै सबै कम्पनी र श्रमिकलाई सूचीकृत गरिसक्ने प्रतिवद्धता, २४ गते मंगलबार मात्रै आउट सोर्सिङ कम्पनीको छाता संगठनका अध्यक्षसँग छलफल, ११७ कम्पनी सूचीकृत भैसकेका । २ लाख बढी श्रमिक रहेको प्रारम्भिक जानकारी । - ६ गते प्याब्सनका पदाधिकारीसँग छलफल । प्याब्सन आवद्ध ६३ सय बढी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा ल्याइने प्रतिवद्धता । सवा लाख शिक्षक, कर्मचारी रहेको प्रारम्भिक तथ्यांक।
- ८ गते जेटियुसिसि र एफएनसिसिआई सँग अन्तरक्रिया । देशैभरका श्रमिकलाई आवद्ध गराउन प्रतिवद्ध रहेको र सोहि अनुसार देशव्यापी अभियान चलाउने जानकारी
- ८ गते नै होटल एसोसियसन अफ नेपालले आयोजना गरेको अन्तरक्रियामा सहभागी, देशैभरका प्रतिनिधि सहभागी रहेको अन्तरक्रिया पछि कोषका बारे रहेको अस्पष्टता हटेको र अहिले होटलहरु क्रमश कोषमा आवद्ध हुनेक्रम बढेको छ ।
- १८ गते निजी विद्यालयका शिक्षकहरुको संगठनसँग छलफल, आफ्ना सबै शिक्षकलाई कोषमा आवद्ध गराउन दवाव दिने जानकारी।
- कोषको काम सहज र सरल बनाउनका लागि प्राविधिक सुधार