काठमाडौं – यातायात व्यवसायीहरूले भोलि (सोमबार) सबै सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार एक विज्ञप्ति जारी गदै सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएको हो ।
गण्डकी प्रदेश सरकाररले ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा आइतबार सार्वजनिक यातायात बन्द गरेका छन् । यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा आएका थिएनन् ।
‘सवारीसाधन घर-ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने निर्णयमा पुगेका हौं । हामीसँग देशभरि ४ लाख सवारी साधन छन् । जुन हाम्रो माग पूरा नहुँदासम्म सडकमा गुड्ने छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘यदि सरकारले हाम्रो पेसागत हितको लागि गरेको आन्दोलनको कुरा सुनेन भने चाबी नै सरकारलाई बुझाउने समय पनि आउन सक्छ ।’
संविधानविपरीत गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली ल्याएपछि यातायात व्यवसायीहरु ७ बुँदे मागसहित आन्दोलनमा छन् । माग पूरा नभए उनीहरुले सोमबारदेखि अनिश्चितकालका लागि सवारीसाधन घर ग्यारेजमा थन्क्याई आन्दोलन गर्ने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि मागको सुनुवाइ नभएकाले आन्दोलनमा जान बाध्य भएको बताए । ‘हामीले धेरैपटक सरकारको ध्यानाकर्षण गराएका छौं । हामी यात्रुले सास्ती पाओस् भन्ने चाहन्नौं । तर राज्यले हाम्रो माग नसुनेपछि अन्तिम विकल्पका रुपमा यातायात नै बन्दको घोषणा गरेका हौं, आफ्नो पेसा/व्यवसाय बचाउनको लागि यो आन्दोलन गरेका हौं,’ उनले भने, ‘सरकारले अझै पनि वार्तामा बोलाएर हाम्रो माग सम्बोधन गर्न सक्छ ।’