सालक संरक्षणविद् पौडेललाई ५० हजार युरोको पुरस्कार

29

काठमाडौं — लामो समयदेखि सालक संरक्षणमा सक्रिय नेपाली संरक्षणविद् कुमार पौडेलले ५० हजार युरोको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन् । नेदरल्यान्ड्सको फ्युचर फर नेचर फाउन्डेसनले पौडेलसहित ३ जनालाई ‘फ्युचर फर नेचर’ अवार्ड दिने घोषणा गरेको हो ।

३ सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धीमध्येबाट संरक्षण अभियन्ताहरू पौडेलसहित एन्थोनी वाडल र रथमेरी पिल्कोलाई उक्त अवार्डका लागि छानिएको हो । एन्थोनी अस्ट्रेलिया रथमेरी पेरुमा वातावरण संरक्षण क्षेत्रमा सक्रिय छन् ।

अवार्ड आउँदो मे १६ मा नेदरल्यान्ड्समै विशेष समारोहबीच प्रदान गरिनेछ । यो अवार्ड अहिलेसम्म ३५ देशका ५४ जनाले पाएका छन् । यसअघि गत वर्ष रिन्जिन फुन्जोक लामा र सन् २०१५ मा मनोज गौतमले उक्त पुरस्कार पाएका थिए । त्यस्तै बेलायती अनुसन्धाता गेराल्डिन वेरहानले सन् २०१८ मा नेपालमै गरेको अध्ययनका लागि उक्त अवार्ड पाएकी थिइन् ।

सालक संरक्षण अभियान चलाइरहेका पौडेलले पाउने ५० हजार युरो(झन्डै ७६ लाख रुपैयाँ) आफूले चाहेअनुसारको क्षेत्रमा काम गर्न पाउनेछन् । पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञानमा एमएस्सी र क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका पौडेल करिब १५ वर्षदेखि सालक संरक्षणको क्षेत्रमा सक्रिय छन् । उनी नेपालका संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणमा काम गरिरहेका छन् । उनले नेपालमा वन्यजन्तु सिकार र तस्करीमा संलग्न भएका व्यक्तिहरूलाई कारागारमै भेटेर ‘कोही किन वन्यजन्तु तस्कर बन्छ ?’ भन्ने विषयमा अनुसन्धानसमेत गरेका थिए ।

कछुवा, सालक, गैंडा र लौठसल्लालगायतका संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणका लागि पौडेलले सन् २०१२ ग्रीनहूड नेपाल संस्था पनि स्थापना गरे । त्यस्तै उनी आईयूसीएनको सालक विशेषज्ञ समूह-एसियाका उपाध्यक्षसमेत हुन् । उनी दक्षिण एसिया र एसियामै सालक संरक्षणका लागि चालिएका विभिन्न अभियानमा सक्रिय छन् ।

समाचार वर्गहरू