सिआइबीमा धनराज गुरुङले भने – बुझेको र तिर्नुपर्ने ऋण तिरेकै छु, अझै पनि तिर्छु

63
तस्वीर - रासस

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पत्नीले छोडेका कारण ‘दुःख पाएको’ बताएका छन् ।

सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दोस्रोपटक मंगलबार बयान दिने क्रममा गुरुङले फेरि पनि पत्नीले छोडेका कारण ‘दुःख पाएको’ बयान दिएका हुन् ।

सिआइबी स्रोतका अनुसार बयानमा उनले सबै कारोबार पत्नीले गरेको र उनीसँग सम्बन्ध बिच्छेद भएपछि कुनै सम्पर्क नभएको कुरा पुनः दोहोर्याएका थिए । ‘अंश नलिने, छोराछोरी भेट्न पाउने भन्ने सहमति भएकोले उनलाई मैले केही पनि सोधेको छैन’, अघिल्लो बयानको कुरा दोहोर्याउँदै गुरुङले भनेको सिआइबी स्रोतले जनायो ।

पत्नीसँग सम्बन्ध बिच्छेदपछि पनि रोक्का रहेको घर धितोमा राखेर १२ करोड रुपैयाँ ऋण लिएको र त्यसको दायित्व बढेर अहिले ८४ करोड पुगेको बारे सिआइबीले सोध्दा उनले इन्कारी बयान दिए । स्रोतका अनुसार धनराजले ‘मलाई केही थाहा छैन, जाने, बुझेको र तिर्नुपर्ने कुरा तिरेकै छु, अझै पनि तिर्छु’ भनी बयान दिएका छन् ।

अघिल्लो बयान कागज अपुरो रहेको भनी सरकारी वकिलले सुझाव दिएपछि उनलाई मंगलबार बयानका निम्ति बोलाइएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए ।

समाचार वर्गहरू