काठमाडौं – सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहानै गएको भूकम्पपछि निरन्तर पराकम्पन आएको छ ।
बिहान २ बजेर ५१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यसयता निरन्तर पराकम्पनहरु आएको भूकम्पविद् भरत कोइरालाले बताए । शुक्रबार बिहान साढे ७ बजेसम्म साढे चार घण्टाको अवधिमा २४ वटा पराकम्पन आएको उनको भनाइ छ ।
उनले पराकम्पन साना भएकाले वेबसाइटमा उल्लेख नगरिएको बताए । उनका अनुसार २.३ रेक्टर स्केलदेखि ३.८ रेक्टर स्केलसम्मका २४ पराकम्पन आएका हुन् ।
उनले साना साना पराकम्पन नियमित आउने भए पनि साढे ७ बजेपछि बिहान ९ः१५ बजेसम्म भने साना पराकम्पन एउटा पनि नआएको बताए ।