काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिनिधसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीमाथि छानबिन भइरहेको विषयको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको छ ।
सिआइबीका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बुधबार सभामुखलाई पत्र लेखेका हुन् । काठमाडौं महानगरपालिका ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले अनुसन्धान प्रक्रिया अगाडि बढेको पत्रमा उल्लेख गरिएको छ ।
सभामुखलाई सीआईबीइले लेखेको पत्रमा भनिएको छ, ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’
काठमाडौं महानगरपालिका ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा किर्ते गरी ठगी गरेको भन्दै चौधरीमाथी अनुसन्धान भइरहेको हो ।
नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अजित नारायणसिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम भएको जग्गा किर्ते गरी ठगी गरेको आरोप छ ।