सीतापुरमा भएको घटना प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

16

ललितपुर –  नेपाली कांग्रेसको बाँकेको सीतापुरमा भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँके जिल्ला सभापति किरण कोइराला लगायतका पार्टीका कार्यकर्ता माथि भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना कार्यक्रममा जिल्ला सभापति किरण कोइराला लगायतका कार्यकर्तामाथि नेकपाका कार्यकर्ताहरुको समूहले आक्रमण गरेर घाइते बनाएको दाबी गरेका छन् ।

सभाहल भित्रै प्रवेश गरेर हातपात हुँदा र सभाहल बाहिर ५०/६० जना जम्मा भएर नाराबाजी गर्दा समेत सुरक्षा निकायले वास्ता नगरेकाले घटना सुनियोजित भएको उनको भनाई थियो । कांग्रेसको दोस्रो चरणको कार्यक्रममा जनताको बढ्दो सहभागिता देखेर नेकपाका कार्यकर्ताहरु आत्तिएको उनले बताए ।

आक्रमणबाट जिल्ला सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनको उपचार गरिएको थियो । सो अस्पतालका चिकित्सक डा. विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भने घटनाको खण्डन गरेका छन् ।

कांग्रेसले घटनाको विरोधमा काठमाडौं, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्री मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, बाँकेमा विरोध प्रदर्शन गरेर स्थानीय प्रशासनलाई लिखित जाहेरी बुझाउने र शनिबार माइतिघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम समेत तय गरेको छ ।

समाचार वर्गहरू