सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छु – परराष्ट्रमन्त्री डा. राणा

53

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छिन् ।

गौरा पर्व मनाउन बुधबार धनगढी पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणाले आफू सो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै सो क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग पनि कुरा उठाएको बताएकी हुन् ।

धनगढी उपमहानगरपालिका वडा नं. ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले सो धारणा राख्नुभएको हो । आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने गरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको जानकारी पनि उनले दिएकी थिइन् ।

मन्त्री डा. राणाले भनिन्,  “केही वर्ष अघि पनि तत्कालीन प्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो । यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै एक ‘लाइफ लाइन’ नै हो । त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेको छु । भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ । हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउने छौँ ।”

गौरा पर्व मनाउन आज बिहान धनगढी पुगेकी मन्त्री डा.राणाले धनगढीस्थित आफ्नो निवासमा पूजा गरेकी थिइन् । बिहान उनलाई धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू, सो प्रदेशका उच्च सरकारी अधिकारी तथा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरूले स्वागत गरेका थिए।

समाचार वर्गहरू