सेनाको दमकल भित्रै हुँदा पनि जलिरह्यो सिंहदरबार

61

काठमाडौं – जेन-जी आन्दोलनका क्रममा मुलुकका ऐतिहासिक धरोहर आगलागी र तोडफोडबाट जोगाउन किन सकिएन भन्ने प्रश्न उठिरहेका छन्।

काठमाडौं उपत्यकाभित्रै रहेका मुलुकका धरोहर सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत जल्दा पनि यहाँ भएका दमकलहरु परिचालन नगरिएको भन्दै आलोचना भएको छ।

आन्दोलनका नाममा राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरकारी तथा निजी प्रतिष्ठानमा एकैसाथ आगो लगाइयो। आगोले जलेर भवनसहित त्यहाँ भएका दस्ताबेजहरु खरानी भए। आन्दोलनका नाममा आपराधिक मनोवृत्तिका व्यक्तिहरुले सरकारी र निजी भवनमा आगो लगाएका थिए, तोडफोड गरेका थिए।

सिंहदरबार जलिरहँदा एउटा दमकल भने सिंहदरबार परिसरभित्र रहेको पाइएको छ। त्यस्तो बेलामा पनि सिंहदरबार परिसरमा रहेको नेपाली सेनाको नरसिंह गणभित्र रहेको दमकल चल्न सकेन। त्यो दमकल किन चल्न सकेन? यसको जवाफ कतैबाट पाउन सकिएको छैन।

सिंहदरबार परिसरभित्र आगलागीलगायत आपत्कालीन घटना भएका परिचालनका लागि सरकारले उक्त दमकल खरिद गरेको थियो तर भदौ २४ गते सिंहदरबार जल्दा त्यो दमकल काम लागेन। नेपाली सेनाको एउटा उच्च स्रोतले दिएको जानकारीअनुसार दमकलमुनि मान्छे सुतेका कारण त्यसदिन त्यो दमकल चल्न सकेन। यो भनाइ पत्याउन नसकिने दाबी सम्बद्ध अर्को स्रोतको छ। किनकि त्यो दमकल नरसिंह दल गणभित्र थियो। सिंहदरबार परिसरको त्यो गणभित्र आन्दोलनकारी छिरेको अवस्था छैन।

भदौ २४ गतेको अपराह्न चार बजेतिर ललितपुर महानगरपालिकाले सिंहदरबारको आगो निभाउन दमकल पठाएको थियो। साढे ४ बजेपछि नेपाली सेनाको मुख्यालयमा भएको अर्को दमकल आगो निभाउन प्रयोग भएको थियो। ‘आपत्कालमा प्रयोग हुने सिंहदरबारको दमकल किन चलाउन सकिएन भन्ने विषयमा जवाफ दिन कोही तयार छैनन्’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘सेनाको नियन्त्रणमा भएको दमकल चलाउन सकेको भए पनि क्षति कम हुन्थ्यो।’

काठमाडौं महानगरपालिकाले भने सोही दिनको मध्यरातमा एउटा दमकल आगो निभाउन पठाएको थियो। त्यतिन्जेल ललितपुर महानगरपालिका र सैनिक मुख्यालयको दमकलले आगो निभाउन १० पटकभन्दा बढी पानी ल्याएर खन्याएका थिए। अर्को दिनको दिउँसोसम्म ललितपुर महानगरपालिका र सैनिक मुख्यालयको दमकलले आगो निभाउन ४५ पटकभन्दा बढी पानी ओसारेका थिए। एकपटकमा दमकलमा करिब ४ हजार लिटर पानी ल्याउन सकिने र त्यो पानी करिब १० देखि १५ मिनेटमा सकिने दाबी अग्निनियन्त्रकहरुको छ। काठमाडौं महानगरपालिकाको दमकल भने चालक नभएको बहाना बनाएर राखिएको थियो। दमकल नखटाएको विषयमा महानगरपालिकाको धेरै आलोचना भएपछि नगरप्रहरी प्रमुख राजु पाण्डेले समयमा दमकल गएको भन्दै आलोचनाको निराधार भएको दाबी गरेका छन्।

आन्दोलनकारीले सिंहदरबारमा पेट्रोल छर्किएर आगो लगाएका थिए। भदौ २४ गते राति सेनाले स्थिति नियन्त्रणमा लिएपछि सिंहदरबारभित्र पूर्ण रुपमा दमकल परिचालन गरिएको थियो। त्यतिन्जेलसम्म सर्वोच्च अदालत लगायतका सरकारी प्रतिष्ठान जलेर खरानीमा परिणत भैसकेका थिए। सेनाले आन्दोलनकारीलाई बाहिर निकालेर सिंहदरबारको सुरक्षा आफ्नो हातमा लिएको थियो।

आन्दोलनकारीले प्लास्टिकको डिभाइडरभित्र बोरा हालेर पेट्रोल खन्याएर आगो लगाएका थिए। उनीहरुले आगो लगाउन थालेपछि त्यहाँ खटिएका सुरक्षाकर्मी पछाडि हटेका थिए। आगलागीबाट नेपालको राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबार भवन खण्डहर बनेको छ। नागरिकन्युज

समाचार वर्गहरू