स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रुपा गाउँपालिका

21

कास्की – ‘विकास र समृद्धि’को नारा बोकेको कास्कीको रुपा गाउँपालिकाले स्थानीयवासीको जीवनस्तर परिवर्तन केन्द्रित कार्यक्रमलाई जोड दिँदै आएको छ । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी स्थानीय श्रमलाई आर्थिक रुपान्तरणमा जोड दिने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिका प्रमुख नवराज ओझाले बताए ।

केही समयअघि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई स्थानीय उत्पादन ‘ठेकी’ उपहार दिएर चर्चामा आएको रुपा गाउँपालिकाले विशेषगरी स्थानीयवासीको जीवनस्तरमा गुणात्मक विकासका लागि कृषिलाई विशेष जोड दिएर कार्यक्रम गर्दै आएको छ । ‘एक गाउँ एक उत्पादन’ पकेट क्षेत्र बनाएर काम गरेको प्रमुख ओझाले बताए । “हाम्रो एक मात्र उद्देश्य स्थानीयवासीको जीवनस्तरमा गुणात्मक परिवर्तनका लागि आत्मनिर्भर बनाउने हो । हामी सफल हुँदै गएका छौं,” उनले भने ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को कूल बजेट (रु ३७ करोड बजेट)मा विकास बजेट रु १३ करोड रहेको छ भने कृषिका लागि रु एक करोड ५० लाख रकम छुट्याइएको छ । विशेषगरी तरकारी, फलफूल, गहुँ, धानलगायतका बालीलाई प्राथमिकता दिएको ओझाको भनाइ छ । गाउँपालिकाले व्यवसायी तरकारी खेतीका लागि शीतभण्डारको समेत व्यवस्था गरेको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश र संघीय सरकारसँग समेत समन्वय गरेर योजना बनाइरहेको उनले जानकारी दिए ।

गाउँपालिकाको कुनै पनि कार्यक्रममा स्थानीय उत्पादनलाई नै प्रयोग गर्ने र उपहारस्वरुप स्थानीय उत्पादन नै दिने नीति बनाएर त्यसलाई अवलम्बन गर्दै आएको छ । यसले स्थानीयवासीले उत्पादनको मूल्य पनि पाउने र थप व्यावसायिक हुन प्रोत्साहन गर्ने उनको भनाइ छ । गाउँपालिकाले कार्यपालिकाको बैठकबाट स्थानीय उत्पादन र वस्तु मात्र कोशेलीका रूपमा दिने निर्णय गरेको थियो ।

गाउँपालिको स्थानीय उत्पादन प्रोत्साहन नीतिबाट लाभान्वित भएको कृषक राजेन्द्र न्यौपानेले बताए । “अहिले १०० घार मौरी पालेको छु । मह उत्पादनको बजारीकरणका लागि गाउँपालिकाले निकै सहयोग गरेको छ,” उनले भने । हरेक कार्यक्रममा गाउँपालिकाले मह, घ्यू, अनदीको चामल उपहारस्वरुप दिने गर्दा कृषकलाई प्रत्यक्ष फाइदा पुगेको उनको भनाइ छ ।

यसका साथसाथै विदेशमा भएका युवालाई स्वदेश फर्काउने र स्वदेशमा भएकालाई प्राविधिक शिक्षा एवं तालीम प्रदान गरेर स्वदेशमै रोजगार बनाउने लक्ष्य गाउँपालिकाको रहेको ओझाले बताए । यसका लागि गाउँपालिकाले तीन विद्यालय ‘गाउँफर्क मावि,’ ‘विश्व शान्ति मावि’, ‘रामकोट मावि’मा सिभिल इन्जिनीयरिङ, भेटेरेनरी र कृषिको पढाइ सञ्चालन गरेको छ ।

रासस

समाचार वर्गहरू