स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ

31

संखुवासभा – कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन्।हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान सुरू गरेको जनाएको छ। अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो। करिब १५ लाख रुपैयाँ बराबरको सामग्री चोरी भएको अस्पताल श्रोतले जनाएको छ ।

श्रोत अनुसार ७० पिपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामग्री हराएको छ।अहिले आइसोलेसनमा तीन जना कोरोना सङ्क्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए। तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जना कोरोना सङ्क्रमितलाई राखिएको श्रेष्ठले बताए।

समाचार वर्गहरू