हर्क साम्पाङको श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’

87

काठमाडौं – हर्कराज राई साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल श्रम संस्कृति पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ ।

अध्यक्ष साम्पाङले अवधारणा पत्र पढेर सुनाउँदै भने, ‘प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ । अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद ।’

उनले हर्कवादलाई थप प्रस्ट्याउँदै यही देशको ढुंगा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभूता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र पनि हर्कवाद नै भएको बताए ।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीको शासकीय स्वरूपबारे पनि अवधारणा सुनाए । बालिग मताधिकारद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति हुने उनले बताए ।

साम्पाङको अवधारणाअुनसार राष्ट्रपतिले राजनीतिक क्षेत्र बाहिरको विषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउने छ । पाँच वर्षे पदावधिको राष्ट्रपति नै राष्ट्र र सरकार दुवैको प्रमुख रहने उनले बताए ।

साम्पाङले राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्‍ग र एकै जाति समुदायको नरहने (दलले उम्मेदवारी दिँदाको अवस्थामा तर चुनिँदा के हुन्छ, सो नतिजा अनुसार हुने पनि बताए ।

केन्द्रमा राष्ट्रपतिले सरकार गठन गर्दा समानुपातिक समावेशी किसिमको सरकार बनाउने र प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिए जस्तै प्रत्यक्ष निर्वाचित हुने पनि पार्टीको अवाधारणा रहेको उनले बताए ।

साम्पाङको पार्टीले व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदनात्मक व्यवस्थापिका रहने, संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्र सभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहने र प्रतिनिधिसभा प्रदेशको जनसंख्याको अनुपातमा पूर्णसमानुपातिक प्रतिनिधत्व रहने  कल्पना गरेको छ ।

यसैगरी राज्यको कुनै धर्म नहुने तर व्यक्तिको धार्मिक आस्थाप्रति स्वतन्त्र रहने पनि पार्टीको अवधारणा पत्रमा उल्लेख छ ।

श्रम संस्कृति पार्टीको अवधारणाअनुसार जेनजी पुस्तालाई उत्पादन, निर्माण र आविष्कारमा लगाउने, जीवनपयोगी शिक्षा पद्दति लागु गरी हप्ताको ३ दिन मात्र पढाउने व्यवस्था मिलाएर पढ्ने विषयवस्तु र कितावको संख्या, पाठ्यभार घटाउने नीति पनि रहेको छ ।

समाचार वर्गहरू