(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद सागको आइतबार भब्य समारोहका बीच उद्घाटन हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा सहभागी हुनेहरु ४ बजे भित्र रगंशालामा प्रवेश गरिसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।
सागमा २८ खेल समावेश छन् । जसमध्ये एक जनकपुर र ८ पोखरामा हुनेछ भने बाँकी काठमाडौंमा हुनेछ । उद्घाटन समारोहको रिहर्सल शुक्रबार नै भइसकको छ । सागलाई भव्य बनाउने उद्देश्यले एक समारोहकाबीच सेना, प्रहरी तथा विद्यार्थीले शुक्रबार उद्घाटनको रिहर्सल गरेका थिए ।
नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरवमाथि उठाउने हिसाबले प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले यसअघि नै बताएका थिए । करीब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देश सहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
दक्षिण एसियाली मुलुकबाट प्रतियोगितामा भाग लिन आउने खेलाडी, प्रशिक्षक, दर्शक, अफिसियल लगायतका पाहुनाको स्वागत गर्ने क्रममा नेपालको रहनसहन, भेषभूषा सहित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहनेछ ।
उद्घाटन समारोहमा मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्य लगायतको गायन टोलीले सार्क गीत गाउने छन् । नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।
आयोजक नेपालबाट कुल ५ सय ९६ खेलाडीले सहभागिता जनाउने साग तयारी समितिले जनाएको छ । सागमा नेपालले सबै २६ खेलमा प्रतिस्पर्धा गर्ने छन् । जसमा ३ सय ९ पुरुष र २ सय ८४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने समितिले जनाएको छ । प्रतियोगिता भव्यरूपमा आयोजना गर्न दशरथ रंगशालाको पुनर्निर्माण काम पूरा भएको छ ।
पोखराको रंगशालाको काम पनि अन्तिम रूपमा पुगेको छ । प्रतियोगितामा समावेश २६ खेल मध्ये महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पोखरामा हुनेछ । ऐतिहासिक नगरी जनकपुरमा भने कुस्ती हुनेछ । प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाका खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आइपुगिसकेका छन् । उनीहरूको बसोबासका लागि राजधानीमा मात्रै एक सयको संख्यामा होटल बुकिङ भइसकेको तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जानकारी दिए ।
मंसिर १५ गते औपचारिक उद्घाटन हुने १३ औं सागको फुटबल तर्फका खेलहरु मंसिर १६ बाट सुरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिता भने गत बुधबारबाट सुरूआत भइसकेको छ । यस प्रतियोगितामा सातै देशका खेलाडीले भाग लिएको एउटै विधा भनेको ब्याड्मिन्टन हो । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशीमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
१३ औं सागका लागि ३१७ स्वर्ण पदक, सोही संख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ । प्रतियोगिता अन्तर्गत सबभन्दा बढी प्रतिस्पर्धा पौडी विधामा ३८ वटा स्वर्ण पदक प्रदान गरिने छ । प्रतियोगितामा ५९४ खेलाडी सहित ७८० जनाको नेपाली टोलीको सहभागिता रहनेछ ।
दशरथ रंगशालामा हुने साग फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद्ले १४ हजार टिकट बिक्री गर्ने बताएको छ । १५ हजार क्षमताको भएपछि १४ हजार मात्र टिकट बिक्री गर्ने राखेप जनाएको छ । राखेपले सागका विभिन्न खेलका लागि अनलाइन टिकट बुकिङ गर्न सकिने र साग टिकट बुकिङका लागि ई-सेवासँग सम्झौता भएको राखेपले जनाएको छ ।
रंगशालमा साधारण तर्फ ५ सय र भीआईपी तर्फ एक हजारको टिकट व्यवस्था गरिएको छ । सागलाई सफल तुल्याउन करिब २० हजार सुरक्षाकर्मी खट्ने छन् भने ५ सय स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ । यसपटक काठमाडौँ, ललितपुर, कास्की र धनुषा जिल्लाका ३० खेलस्थलमा २६ खेल सञ्चालन हुनेछ । काठमाडौँको १२, ललितपुरको ९ र पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुने छ । सबै क्षेत्रमा आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसपटकको खेलमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको जनाइएको छ ।
सागमा सात देशबाट कुल २ हजार ९ सय १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय टिम तयारी समितिले सागमा सहभागी ७ राष्ट्रबाट २६ खेलका लागि २ हजार ९ सय १० खेलाडीको सहभागिता रहने जनाएको छ । समितिका अनुसार ७ सय ६९ अफिसियल सहभागी हुनेछन् । खेलाडी र अफिसियल गरी कूल ३ हजार ६ सष ७९ जना सहभागी हुनेछन् ।
अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाएको छ । सागका ९ खेल पोखरा, १ खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ ।