२४ घण्टामा १ हजार ३६३ पीसीआर विधिबाट नमूना परीक्षण

68

(काठमाडौं) – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै उमेर समूहका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा डा. देवकोटाले सबै उमेर समूहका व्यक्तिलाई सचेत र सजग रहन आग्रह गरे । मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ जनाको पीसीआर विधिबाट नमूना परीक्षण भएको छ ।

नेपालमा हालसम्म ८४ हजार ९ सय ९१ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ६२ हजार ३ सय २७ नमुना परीक्षण भएका छन् । आरडीटी विधिबाट चैत २९ गतेबाट परीक्षण सुरु गरिएको हो ।

२२ हजार ६ सय ६४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । मन्त्रालयले गत माघ १४ गतेबाट पीसीआरबाट परीक्षण सुरु गरेको हो । काठमाडौं उपत्यकामा ६ र बाहिर २ सय ६६ जना आईसोलेसनमा छन् । मुलुकभर हाल १५ हजार ६ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनका लागि ५३ हजार ८ सय ३५ शय्याको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । कुल संक्रमित २ सय ४६ मध्ये हालसम्म ३५ जना उपचारपछि डिस्जार्च भएका छन् । बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार वर्गहरू