(सिमरा) – बाराको सिम्रौनगढ नगरपालिका ११ भगवानपुरबाट ठूलो परिमाणमा तस्करीको लत्ताकपडा बरामद भएको छ । सिम्रौनगढ नगरपालिकाका संजय जैसवालको घरबाट ३९ लाख ४६ हजार ६१ रुपैयाँ बराबरको कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको अवस्थामा सो कपडाको बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकाशराज खनालले बताउनुभयो । बरामद भएको कपडा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार पठाईने उहाँले बताउनुभयो ।
गोदामको रुपमा भण्डारण गरिएको जैसवालको घरबाट बहुमुल्य साडी, सुर्टिङ्ग, सर्टिङ्गका कपडा, कुर्ता सुरुवाल, थान कपडा, लहंगा, गम्छा, बच्चाको कपडा ठुलो परिमाणमा फेला पारिएको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पुर्याई प्रहरीले बिहीबार खानतलासी गरी उक्त परिमाणमा कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।