अंग्रेजी नयाँ वर्षमा नेपाली टोपी दिवस किन मनाइन्छ ?

26

काठमाडौं – जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

यस अवसरमा आज पाटन दरबार क्षेत्रमा आयोजना हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनेछन् ।

‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाहरुले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको संख्या बढ्न थालेको छ ।

अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिनका लागि यसै दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको यसका एक अभियन्ता रामजी बलामी बताउँछन् ।

उनी भन्छन्– पछिल्लो पुस्ताले आँखा चिम्लेर पश्चिमेली संस्कृतिको सिको गर्न थालेका छन । हामीले यो दिन टोपी दिवस नमनाए पनि न्यू इयर त मनाउँछन् नै । त्यसैले अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिनका लागि यो दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको हो । यसको मतलव अंग्रेजी नयाँ वर्षको प्रवर्द्धन गर्न वा यसको विरोधमा नेपाली टोपी दिवस मनाउन थालिएको होइन ।

समाचार वर्गहरू