अनेरास्ववियु बागमतीले अध्यक्ष डा. सुजन कडारियाको नेतृत्व नमान्ने

111

काठमाडौं – नेकपा एमाले निकट अनेरास्ववियुका बागमती प्रदेशका नेताहरूले संगठनको अध्यक्ष डा.सुजन कडारियाको नेतृत्वकाे विराेध जनाउँदै नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्।

बागमती प्रदेशका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र संयोजकहरूले संयुक्त रूपमा जारी गरेको ध्यानाकर्षण पत्रमा डा. कडारियाको पछिल्लो आचरण, राजनीतिक दोहोरोपन र राजीनामाको नाटकले संगठनको गरिमा र विश्वासमा ठेस पुर्‍याएको उल्लेख छ।

“संकटको घडीमा संगठनलाई बलियो बनाउनुपर्ने अध्यक्ष उल्टै भाग्ने, राजीनामाको नाटक गर्ने, सार्वजनिक रूपमा मौन रहँदा व्यक्तिगत रूपमा निराशावादी सन्देश प्रवाह गर्ने” जस्ता व्यवहारले विद्यार्थी आन्दोलन र संगठनप्रति निष्ठावान कार्यकर्ताहरूलाई भ्रमित बनाएको आरोप लगाएका छन् ।

पत्रमा डा. कडारियाको राजीनामा सार्वजनिक भएपछि पनि “विद्यार्थी संगठन सकियो” भन्ने अभिव्यक्तिहरू संगठन र शहीदहरूको अपमान भएको दाबी गरिएको छ।

उनीहरुले तत्काल केन्द्रीय बैठक बोलाई नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्। अध्यक्षको सामाजिक सञ्जालमार्फत सार्वजनिक राजीनामालाई स्वीकार गर्दै संगठनले नयाँ, जिम्मेवार र स्पष्ट दृष्टिकोण भएको नेतृत्व रोज्नुपर्ने उनीहरूको माग छ।

समाचार वर्गहरू