अफगानिस्तान भूकम्पमा ८२० भन्दा बढीको मृत्यु, २५ सय बढी घाइ

62

काठमाडौं – सोमबार राति स्थानीय समयअनुसार ११ः४७ बजे, अफगानिस्तानको पूर्वी क्षेत्रमा ६ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पले काबुलको पूर्वी क्षेत्र नजिकको कुनार प्रान्तलाई विशेष गरी प्रभावित पारेको छ । रिपोर्टअनुसार कम्तीमा ८ सय २० जनाको मृत्यु भएको र २ हजार ५ सयभन्दा बढी घाइते भएका छन् ।

उद्धार कार्य जारी रहेको छ । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प गइसकेको छ । उद्धारकर्मीले मर्ने र घाइतेको संख्याको बारेमा थप जानकारी गराइरहेकाले सो संख्या अझै बढ्ने बताइएको छ । भूकम्पमा परी २ हजारभन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने हजारौं घरहरू प्रभावित भएका छन् । अहिले घरबारविहीन भएकाहरूलाई सुरक्षित आश्रयस्थलतर्फ लगिएको छ ।

भूकम्पपछि उद्धार कार्यमा प्रमुख चुनौतीहरू देखा परेका छन् । पहाडी र दुर्गम क्षेत्रका कारण उद्धार टोलीहरूलाई पहुँचमा कठिनाइ भइरहेको छ । साथै, भूकम्पपछि आएका परकम्पका कारण थप जोखिम उत्पन्न भएको छ । स्थानीय अस्पतालहरूमा घाइतेको उपचारका लागि पर्याप्त स्रोतसाधनको अभाव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस अवस्थामा अन्तर्राष्ट्रिय समुदायको सहयोग अत्यन्त आवश्यक रहेको छ । अन्तर्राष्ट्रिय समुदायबाट लगभग यो मुलुक अलग अवस्थामा रहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्ने तयारी भइरहेको बताएका छन् । अफगानिस्तानको भूकम्प प्रभावित क्षेत्रको उद्धार र राहत कार्यमा अन्तर्राष्ट्रिय समुदायले सक्रियता देखाएको छ ।

चीन भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानका जनतालाई सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि अफगानिस्तानका जनताप्रति समवेदना व्यक्त गर्दै भारतले आवश्यक सहयोग प्रदान गर्ने बताएका छन् । यसै गरी इरानले पनि अफगानिस्तानलाई पूर्ण सहयोग दिने घोषणा गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानका जनतालाई समवेदना व्यक्त गर्दै इरानले आवश्यक सहयोग प्रदान गर्ने बताएका हुन् ।

अफगानिस्तानले अहिले आएर अन्तर्राष्ट्रिय सहयोग मागेको छ । तालिवान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन् । एजेन्सी

समाचार वर्गहरू