आज ऋषि पञ्चमी : नेपाली नारीद्वारा सप्तऋषिको पूजा आराधना गर्दै मनाइँदै

74

काठमाडौं – भाद्र शुक्ल पञ्चमीका दिन पर्ने ऋषि पञ्चमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ । नेपाली नारीहरूले आज बिहानै स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा अर्चना गरेका छन् ।

धार्मिक परम्पनाअनुसार, महिलाले ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने र पञ्चगव्य सेवन गर्ने परम्परा छ ।

आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रहृमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाकटर रामचन्द्र गौतमले जानकारी दिए ।

आजको दिन नरोपी उम्रेका अन्न खाई एक छाक हविष्य बस्ने व्रत पनि महिलाहरूले लिन्छन् । काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरहरूमा आज श्रद्धालु महिलाको भीड लागेको छ ।

समाचार वर्गहरू