आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४०औँ स्मृति दिवस ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
नेपाली राजनीतिकका आदर्शपुरुष एवं समाजवादी अभियानका संस्थापक बिपी कोइराला निरन्तर चम्किरहेका एक नक्षत्र हुन् ।साउन महिनाको ६ गते बिपी स्मृति दिवस पर्ने हुँदा साउनमा यी नेताको सम्झना हुन्छ। अहिलेको राजनीतिक निराशामा बिपी कोइराला जस्ता ऐतिहासिक व्यक्तिको सम्झना हुनु स्वाभाविक हुन्छ।
मुलुकमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय नेपाली कांग्रेसको बिपी कोइरालाले जीवनभर नेतृत्व गरेका थिए। देशमा तत्कालीन राजा महेन्द्रबाट प्रजातान्त्रिक शासनको अन्त्य भएपछि कोइराला भारत प्रवासमा रहन बाध्य भएका थिए।
प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सरिक हुँदाहुँदै कोइलालाको २०३८ साउन ६ मा निधन भएको थियो। यी नेताले राजनीतिमा बोकेको आदर्शले आजपर्यन्त मुलुकको लोकतान्त्रिक आन्दोलनलाई प्रेरणा दिइरहेको छ।
प्रजातान्त्रिक समाजवादलाई आफ्नो मार्गदर्शक मानेको काँग्रेसले आजका मितिमा आइपुग्दा समाजवादलाई भुलेर लरबरिएको अवस्था छ। खासमा अहिले कांग्रेसमा राजनीतिक आदर्शभन्दा सत्ता केन्द्रित राजनिति प्रधान बनेको स्वयम् काँग्रेसी कार्यकर्ताहरु बताउन थालेका छन् ।
लोकतन्त्रका आधारभूत पक्ष र कूटनीतिक विषयमा प्रमुख दलले समान धारणा राखेर मुलुकलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने सफलता अवश्यम्भावी छ। वास्तवमा अहिले लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो लोकतान्त्रिक नेता आफैँबाट छ।
स्मृति दिवसमा बिपीका सपनाको गीत गाएर अनि तस्बिरमा माला लगाएर मात्र केहि उपलब्धि हात लाग्नेवाला छैन । बिपीले गरेको संघर्षबाट प्रेरणा लिँदै मुलुकलाई समृद्धिको बाटोमा हिँडाउन सकेमात्र अपेक्षित प्रतिफल प्राप्त हुन सक्छ।
अहिलेकै अवस्थामा दलका नेताहरूले आफूलाई नसुधार्ने हो भने अनियमितताबाट आफूलाई जोगाउन नसक्ने नेताहरूले बिपीका सपनाको चर्चा गर्नु आफैंमा लज्जाको बिषय हो। लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा विकास गर्दै देशलाई प्रगती र समृद्धिको बाटोमा अघि बढाउन बिपीको स्मृतिका अवसरमा सबैलाई सद्बुद्धि प्राप्त होस् ।