आज सम्पन्न हुँदै एमालेको विधान महाधिवेशन, फरक मत निषेध

63

काठमाडौं – ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिने भएको छ।

अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पेस गरेका प्रतिवेदनमाथि बनेका १० समूहले छलफल गरी सुझाव दिएका छन्।

आजै अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २,०२६ प्रतिनिधि र ३१५ आयोजक गरी २,३४१ जना सहभागी छन्। महाधिवेशनले राजनीतिक तथा समसामयिक प्रस्ताव पनि पारित गर्नेछ।

महाधिवेशनको दोस्रो दिनमा शनिवार आन्तरिक खटपट र विवाद देखिएको छ । महाधिवेशनलाई विचार र दृष्टिकोण आदान–प्रदान गर्ने अवसरका रूपमा प्रस्तुत गर्न खोजिए पनि वास्तविकतामा भने मत भिन्नतालाई रोक्ने प्रवृत्ति देखिएपछि केही नेताहरूमा असन्तोष देखिएको छ ।

विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद र स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गरेको फरक मत रोकिँदा महाधिवेशनमा असन्तोष बढेको हो । यद्यपि, महाधिवेशसनमा कुनै विवाद नभएको र सबै एकजुट भएर अघि बढ्न सहमत भएको नेताहरूको दाबी छ ।

शनिवार थापाले आफ्नो फरक मत प्रस्तुत गर्न खोजे पनि उहाँले समय पाएनन् । ३२ पृष्ठ लामो प्रतिवेदनसहित उहाँले सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था हटाउनेजस्ता एजेन्डा अघिसारेका थिए।

थापाले आधा घण्टासम्म मञ्चअघि उभिएर अवसर पर्खिए पनि अन्ततः बोल्नै नदिइएको सहभागीहरूले बताएका छन् । ओलीले गएका दिनहरूमा थापासँग वान–टु–वान तीन घण्टा छलफल भएको उल्लेख गर्दै मलाई कन्भिन्स गर्न सकिएन भन्दै फरक मत प्रस्तुत गर्न आवश्यक नठानेको बताएका थिए ।

महाधिवेशनमा विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयका सम्बन्धमा पनि केही विवाद बनेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसम्मले यसबारे असहमति जनाउँदै आउनुभएको छ । उहाँहरू भण्डारीको पक्षमा खुलेर उभिँदा महाधिवेशन स्थलमै कानेखुसी, गफगाफ र अलग्गै रणनीति मिलाउने दृश्य देखिएको छ ।

एमालेले दशकौँदेखि जनताको बहुदलीय जनवादलाई आफ्नै पहिचानका रूपमा अघि सारेको छ । तर, फरक मत रोक्ने व्यवहारले जबजकै मूल आत्मालाई कमजोर बनाउन सक्ने देखिएको छ ।

समाचार वर्गहरू