आन्दोलनको नाममा अराजक भिडको गैर जिम्मेवारी तमासा, जिम्मेवार को ?

387

भवनाथ आचार्य

नेपालमा १८ बर्षअघी समाप्त भएको राजसंस्था पुनःस्थापना गर्ने अभियानमा लागेका राजावादीले शुक्रबार राजधानीमा उपद्रो गरेका छन् । शुक्रबार काठमाडौंको तिनकुनेमा शक्ति प्रदर्शनको नाममा तोडफोड, आगजनी र लुटपाट समेत मच्चाएकार उनीहरूले आफ्नो पहिचान प्रष्ट्याएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहकै इच्छा चाहना योजना र आशीर्वादमा उक्साइएको यो अराजक उद्दण्ड जत्थाले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी मात्रै गरेको छैन, औषधि कारखाना र सञ्चारगृहमा सुनियोजित आक्रमण गरेको छ भने व्यापारिक केन्द्रमा पसेर लुटपाट पनि मच्चाएको छ ।

राजावादीको प्रदर्शनको समाचार संकलन गर्न फिल्डमा खटिएका व्यावसायिक पत्रकारसहित दुई जना यो आततायी विध्वंसका सिकार बनेर आफ्नो प्राण आहुती दिए । आन्दोलनका नाममा उत्रेका अराजक दस्ताले ‘सन्चो’ लगायतका औषधि बनाउने कारखानामा आगो लगाए । अत्यन्तै प्रज्वलनशील इन्धनको डिपो र दर्जनौं जहाज रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगो फ्याँके । कान्तिपुर टीभीको कार्यालयमा आक्रमण गरे भने अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरी आगोसमेत झोसे ।

नेपालको राष्ट्रिय झन्डा काँधमा भिरेका व्यक्तिको जत्थाले भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्‍यो । एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भयो । निजी तथा सार्वजनिक कार्यालय, गाडी र सम्पत्ति बेहिसाब जलाइयो, आगो निभाउन गएको दमकललाई तोडफोड गरेर कर्मचारीलाई निर्घात कुटियो । यो कुन आन्दोलनको स्वरुप हो ?

लोकतन्त्रमा आफ्ना मागहरु शान्तिपुर्ण तरिकाले राख्न पाउने अधिकार सबै नागरिकमा सुरक्षित छ । तर आन्दोलन वा शक्ति प्रदर्शनका नाममा निहत्था नागरिकको व्यक्तिगत सम्पत्ति सार्वजनिक संस्था देखि दलका कार्यालय अनि व्यापारिक केन्द्रमा समेत गिद्दे दृष्टि लाउनुको पछाडीको खास कारण के हो ? यसको जवाफ आफ्ना पिछलग्गुलाई उकासेर सडकमा उतार्ने पुर्व शाशक ज्ञानेन्द्र शाहले दिनु पर्दैन ?

आफ्ना पिछलग्गुको यो हर्कत तमासे बनेर हेरिरहेका राजा फर्काउन सडक प्रदर्शनका ठेकेदार बनाइएका दुर्गा प्रसाईंले अराजक भिड सम्हाल्नत कता हो कता उल्टै प्रहरीलाई सामूहिक रूपमा किच्ने उत्तेजनासहित आफैंले चलाएको गाडी सडकमा दौडाउने सम्मको वितण्डा मच्चाउने सोच र शक्ति कहाँबाट प्राप्त भयो  ? यसको जवाफ पुर्व शाशक ज्ञानेन्द्र शाहले दिनु पर्दैन ?

राजावादी अभियानले नै प्रसाईंलाई आधिकारिक कमान्डर नियुक्त मात्र गरेको छैन, एक दिनअघि मात्र प्रसाईंले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँगै बसेर योजना बनाएका थिए । फिल्डमा खटेका ठेकेदार प्रसाईं त फरार भएका छन् तर उनका पथप्रदर्शक पुर्व शाशक ज्ञानेन्द्र शाहलाई यसको जवाफदेही बनाउन जरुरी छ ।

प्रदर्शनका नाममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा आगो लगाउने को को हुन् ? तिनलाई उत्तेजित बनाउन अँध्यारो कुनामा को को सक्रिय छन् भन्ने विषयमा राज्यले सघन अनुसन्धान गरी जवाफदेही बनाउन जरुरी छ ।

अर्को कुरा आफ्ना महामन्त्री डा. धवल शम्शेर राणाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रको प्रत्यक्ष संलगनता रहेको यो अराजक उदण्डताको जिम्मेवारीबाट पन्छिँदै राप्रपा अध्यक्ष लिङ्देनले हाम्रो सहभागिता छैन भनेर पानिमाथिको ओभानो बन्दै पन्छिन पाइने हो ? कथित आन्दोलन सहज भए आफुले गरेको नभए अरुले गरेको (माछा देखे दुलो भित्र हात सर्प देखे दुलो बाहिर हात) गर्ने छुट यतिबेला राप्रपालाई कसले दियो ?

राजालाई गद्दीमा फर्काउने मूलमन्त्र बोकेको यो अराजक समूह मूलतः अराजनीतिक, अमानवीय र असंवेदनशील मनोविज्ञानबाट निर्देशित छ भन्नेकुरा प्रष्टै देखिन्छ । यसले पुर्व शासक ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने होइन बरु नागरिकका रूपमा उनको बचेखुचेको साख र सम्मानलाई पनि धूलिसात् बनाउने बाटो लिएको घाम जत्तिकै छर्लङ्ग छ ।

यो आन्दोलनलाई अर्को कोणबाट लामो समयदेखि राज्यका वागडोर सम्हालेका राजनितिक दल तथा तिनका नेतृत्वमाथिको आक्रोसको रुपमा पनि लिन सकिन्छ । पछिल्लो समय नागरिकको समस्यामा तिनैतहको सरकारबाट अपेक्षित सम्बोधन नभएको यथार्थता त हामि बाट टाढा छैन तथापि त्यसको सम्बोधनको लागी यहि व्यवस्थामा भएका आवधिक निर्वाचन मार्फत सहि नेतृत्व चयन तथा संविधान संशोधन लगायतका विकल्पहरु उपयोग गर्न सकिने अधिकार त नागरिकमै निहित छ ।

यसै व्यवस्थालाई उपयोग गर्दै आफ्नो अधिकार सुनिश्चित गर्ने उपयुक्त विकल्प हुँदाहुँदै जबर्जस्ती रुपमा व्यवस्था परिवर्तनको ढोल पिटेर नागरिक बाट अनुमोदन हुननसक्ने लाछीहरुको राज्यको ढकुटी हत्याउने दाउलाई सचेत नेपाली नागरिकले राम्ररी बुझेका छन् । पुर्व शाशक ज्ञानेन्द्र शाहलाई पनि यहि संविधान उपयोग गरेर अघि बढ्ने मार्ग प्रसस्त भएको हुँदा नागरिकमा भ्रम छरेर आफ्नो स्वार्थ पुरागर्ने कुत्सित मनसायले गन्तब्यमा नपुगिने कुराको त हेक्का हुनैपर्ने हो ।

समाचार वर्गहरू