आह्वान गरिएको संसद् बैठक नबस्दै स्थगीत गरिनु संवैधानिक नैतिकताको प्रतिकूल : नेपाली कांग्रेस

55

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको संसद् अधिवेशनको बैठक नै नबस्दै पुनः स्थगित गरिएकोप्रति आपत्ति जनाएको छ ।

 केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानअनुसार अधिवेशन आह्वान गर्नु वैधानिक प्रक्रिया भए पनि बैठक नै नबस्दै स्थगन गर्नु संसदीय परम्परा, अभ्यास तथा संवैधानिक नैतिकताको प्रतिकूल कार्य भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले संसद् जस्तो सर्वोच्च जनप्रतिनिधिमूलक संस्थालाई स्वतन्त्र विमर्श तथा निर्णय गर्ने निकायको रूपमा नभई, कार्यपालिकाको सुविधाअनुसार सञ्चालन हुने ‘औजार’ का रूपमा प्रस्तुत गर्ने गम्भीर जोखिम उत्पन्न गरेको छ ।’

विशेष कारणजस्तो अस्पष्ट आधारमा संसद् स्थगन गर्नु र त्यसबारे नागरिकलाई स्पष्ट जानकारी नदिनु सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसको निष्कर्ष छ । अविलम्ब संसद् बैठक सुचारु गर्न बैठकले माग गरेको छ।

समाचार वर्गहरू