काठमाडौं – यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी गरेका छन्।
इजरायल प्यालेस्टाइनबीच गाजामा जारी युद्धका दौरान यो उनीहरूको सबैभन्दा ठूलो क्षति भएको हुथी विद्रोहीहरूले बताएका छन्। तर, यो दाबीको स्वतन्त्र स्रोतबाट भने पुष्टि भएको छैन।
समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै शनिबार समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशातले यो घोषणा गरेको उल्लेख गरेको छ।
एएफपीका अनुसार अल-रहावीलाई अन्तिमपटक बुधबार सानामा आयोजित एक सार्वजनिक कार्यक्रममा देखिएको थियो।
अहमद अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए। तर, वास्तविक सत्ता उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा रहेको बताइन्छ। शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार औपचारिक रूपमा जिम्मेवारी दिइएको छ। एजेन्सी