ईमेज च्यानलमा नयाँ व्यवस्थापन कार्यकारी अध्यक्षमा श्रेष्ठ

117

काठमाडौं – नेपालको पहिलो निजी टेलिभिजन च्यानल ईमेज टेलिभिजनको व्यवस्थापनमा परिवर्तन भएको छ।

२७ वर्षदेखि आरके मानन्धरको नेतृत्वमा सञ्चालित ईमेज ग्रुप अफ कम्पनीज अब साउन १ गतेदेखि नयाँ व्यवस्थापनको हातमा गएको हो।

नयाँ व्यवस्थापनको कार्यकारी अध्यक्षमा सञ्चार उद्यमी तथा कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ नियुक्त भएका छन्। साथै, सञ्चार उद्यमी चेङ अग्रवालले प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका छन्।

ईमेज च्यानलसँगै ईमेज एफएम ९७.९ र ईमेजखबर डट कम पनि नयाँ नेतृत्वमा सञ्चालनमा आउने छन्।

लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा सोमबार आयोजित विशेष कार्यक्रममा संस्थापक अध्यक्ष आरके मानन्धरले नयाँ व्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै मानन्धरले युवा सञ्चारकर्मीको काँधमा विश्वासपूर्वक नेतृत्व सुम्पन पाउँदा सन्तोष लागेको बताए।

कार्यकारी अध्यक्ष श्रेष्ठले ईमेजको तीन दशक लामो गौरवशाली यात्रालाई सशक्त रुपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै, “कामना प्रकाशनको नीतिनिष्ठ पत्रकारिता र अमेरिका–नेपालको सञ्चार अनुभव मिलाएर ईमेजलाई नयाँ उचाइमा पुर्‍याउनेछौं,” भने।

त्यसैगरी, ईमेज च्यानलमा स्थापना कालदेखि आबद्ध जगदीश खरेललाई नयाँ व्यवस्थापनले समाचार प्रमुखको जिम्मेवारी दिएको छ। उनले समाचार सामग्री प्रविधिसँग जोडेर प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

व्यवस्थापन परिवर्तनसँगै अब ईमेज ग्रुपअन्तर्गत छापा, रेडियो, अनलाइन र टेलिभिजन चारवटै माध्यम एकीकृत रूपमा सञ्चालन हुनेछन्। यससँगै नेपालको पहिलो संस्थागत प्रकाशन गृह ‘कामना प्रकाशन’ पनि ईमेज ग्रुपसँग औपचारिक रूपमा जोडिएको छ।

समाचार वर्गहरू