जनकपुर – उच्च अदालत जनकपुरले मधेस सरकारको मन्त्रिपरिषद्को निर्णय उल्ट्याइदिएको छ ।
उच्च अदालतले जनकपुरले आज एक फैसला गर्दै मधेस सरकारले कर्मचारी खटाउने गरेको मन्त्रिपरिषद्को निर्णयलाई बदर गरिदिएको हो ।
मधेस सरकारले असार १२ गते स्वास्थ्य मन्त्रालयअन्तर्गत निमित्त प्रमुखका रूपमा एक जना कर्मचारीलाई खटाउने गरेको निर्णयलाई बिहीबार उच्च अदालतले बदर गरेको हो ।
उक्त मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखमा राजीव झालाई थप कामकाजको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सोही केन्द्रमा रहेका ११ औं तहका जेनरल हेल्थ सर्भिसेसका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल कुशवाहालाई सरुवा गर्दै उनको ठाउँमा १०औँ तहका झालाई थप जिम्मेवारी दिइएको थियो ।
प्रदेश सरकारले आफूमाथि अन्याय गरेको भन्दै डा.कुशवाहाले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।