उपराष्ट्रपति पुनले भने, ‘अपांगहरुमा विशेष क्षमता हुन्छ’

18

(काठमाडौं) – उपराष्ट्रपति नन्दबहादुर पुनले अपांगहरुमा विशेष क्षमता हुने भएकोले सोको प्रष्फुटन गराउँदै उनीहरुको व्यक्तित्व विकासको लागि राज्य र सामाजिक अगुवाहरुले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

राजधानीमा भएको एशियाली बौद्धिक अपांगहरुको सम्मेलनको मंगलबार समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

हरेक अपांगहरुमा विशेष क्षमता हुन्छ, त्यसलाई पहिचान गरेर व्यक्तित्व विकासको अवसर दिने हो भने उनीहरुले पनि हाम्रो समाजलाई निकै ठूलो योगदान दिन सक्छन, सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘तपाईले स्टेफन हकिंगको नाम सुन्नुभएको छ, उहाँले ब्ल्याकहोलको सिद्धान्तको प्रतिप्रादन गर्नुभयो, उहाँ अपांग हुनुहुन्थ्यो ।’

उपराष्ट्रपति पुनले नेपालको संविधानले फरक क्षमता भएका (अपांग) नागरिकहरुको संरक्षणको समुचित व्यवस्था गरेको र संविधानले उनीहरुलाई दिएका संरक्षणात्मक अधिकारको उपयोग गर्ने सम्बन्धमा सरकारले पनि सामाजिक सुरक्षा र कल्याणका विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको बताए ।

उनले भने, ‘संविधानका अक्षर र भावनालाई कार्यान्वयन गर्न राज्यका निकायसँगै नागरिक समाज र सामाजिक क्षेत्र मिलेर काम गर्नुपर्दछ ।’

उपराष्ट्रपति पुनले सम्मेलनबाट पारित प्रस्तावहरु बौद्धिक अपांगता भएका व्यक्तिहरुको लागि मात्र नभएर उनीहरुको हकहित र कल्याणका कार्यक्रम गर्न चाहने विश्वका सबै देशका सरकार र नागरिकहरुका लागि उत्तिकै उपयोगी हुने पनि बताए ।

समुद्घाटन समारोहमा एशियाली बौद्धिक अपांग महासंघका अध्यक्ष डा.सच्चिदानन्द श्रीवास्तवले बौद्धिक अपांगता भएका बालबालिकाहरुको हेरचाह, शिक्षा, स्वास्थ्योपचार, तालिम र जिविकोपार्जनका क्षेत्रमा एशियामा भएका प्रयासहरुबाट एकापसमा ज्ञान, सीप, अनुभवको आदानप्रदान गर्न यो सम्मेलन उपयोगी हुने उनको भनाई थियो ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले सम्मेलनले बौद्धिक अपांगता भएका व्यक्तिहरुको हेरचाह, शिक्षा, स्वास्थोपचार, तालिम र जीविकोपार्जनका क्षेत्रमा देखिएका समस्या, तिनको समाधानका लािग गरिनु पर्ने कार्यलाई समता, समानता र समावेशिताका मूल नारामा समेटेर सम्मेलनको आयोजना गरिएको बताए ।

समाचार वर्गहरू