काठमाडौं – उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले छ वटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुमजुङ खोलामा मंगलबार करिब तीन घण्टा भीषण बाढी आउँदा उक्त क्षति पुर्याएको हो ।
बाढीले लोमान्थाङ–४ स्थित चुमजुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना मार्फत जनाएको छ ।
यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ–४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।