काठमाडौं – नेकपा एमालेबाट निष्कासित डा. भीम रावलले भावी योजनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्दैछन्।
बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन लागेका हुन्।
यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। गत सोमबार उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग छलफल गरेका थिए। उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ।
एमालेले पार्टीबाट निकालेपछि उनले आज पहिलो पटक आधिकारिक रूपमा आफ्नो धारणा राख्ने भएका हुन् । रावलले नयाँ पार्टी खोल्ने तयारीका लागि छलफल पनि अगाडि बढाइरहेको रावल निकट नेताहरू बताउँछन् ।
२०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए।