काठमाडौं – राजनीतिक दलका प्रतिनिधिहरूले शान्तिसुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
निर्वाचन आयोगले बिहीबार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा उनीहरूले मूलभूत रूपमा शान्तिसुरक्षाको विषय उठाएका हुन्।
एमालेबाहेक सबै दलका प्रतिनिधिहरूले भेदभावरहित निर्वाचन हुनुपर्नेमा जोड दिए। एमालेले भने आफू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा लागेको भन्दै निर्वाचनमा भाग नलिने बतायो।
छलफलमा विभिनन २९ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए। छलफलको शुरुवातमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारसँगको पटकपटकको छलफलमा स्रोतसाधन उपलब्ध गराउने प्रतिवद्धता आएको र शान्तिसुरक्षाको व्यवस्था गर्न स्पष्ट प्रतिबद्धता जनाइएको भन्दै दलहरूले निर्वाचनमा सघाउनुपर्ने बताए।
खासगरी कांग्रेस र एमालेका प्रतिनिधिहरूले सरकारको कार्यशैली हेर्दा निर्वाचन गराउनेतिर उन्मुख नदेखिएको भन्दै निर्वाचन आयोगका पदाधिकारीहरूको ध्यानाकर्षण गराएका थिए। उनीहरूले ‘सरकारमा रहेका मन्त्रीहरूले दलहरूप्रति अत्यन्त प्रतिशोधपूर्ण रूपमा विषवमन गरिरहेका’ भन्दै त्यस्ता गतिविधिले निर्वाचनको वातावरण नबन्ने चेतावनी दिए।
छलफलमा सहभागी अधिकांश दलले शान्तिसुरक्षा र भयरहित वातावरणलाई मुख्य रूपमा उठाएका थिए।